काठमाडौं। गत बुधबार संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका नेता केपी शर्मा ओलीले पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएका थिए ।
एमालेले आज सोहि आरोपको बिषयलाई लिएर प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको गजुरमा सुन लगाउने नाममा पित्तल लगाएको भन्ने आरोप लगाइएको भन्दै आपत्ती जनाए । गिरीले भने,’प्रतिपक्षी दलको नेता ओलीलाई पशुपतिनाथ मन्दिरको गजुरमा सुन लगाउने नाममा पित्तल लगाउनुभयो भनेर सत्ता पक्षका सांसद्ले भन्नुभएको छ । यो गम्भीर विषय हो । ’
उनले एमालेले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउने बताए। गिरीले भने,‘भ्रष्टाचारीलाई सदाका लागि अन्त्य गर्नुपर्छ । जनतामा उत्साह भर्ने काम गरौं । विना आधार प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचार गरेको आरोप लगाइयो । ’
एमाले सांसद् सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलका नेतामाथि सुनको जलारीको नाममा पित्तलको जलारी चढाएर भ्रष्टाचार गरेको आरोप लगाइएको बताए ।
एमाले सांसदहरूले बेल घेराउ गरेर सरकारविरुद्ध नाराबाजी गरेको छ। एमालेले अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ।
Add Comment