काठमाडौँ । नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काग्रेस पार्टीलाई जनताले विकृति र मनपीरतन्त्रको संवाहकका रुपमा चिनेको बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियनको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले यस्तो बताएका हुन् ।
नेता केसीले जनता निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र बिचार लिएर अगाडी बढेमा भविष्य चुनौतिपूर्ण हुने बताए।
केसीले भने, ‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रुपमा जनताले चिनेका छन्। भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन्। विकृति र मनपीरतन्त्रको संवाहकका रुपमा हामीलाई चिनेका छन्। त्यसले गर्दा जनतामा निराशाको स्थिति र अरु के विकल्प छ भनेर खोजीरहेका छन्। जनता विकल्प खोज्छन्। कसैलाई कुरेर बस्दैनन्। हामी अहिलेजस्तै नीति, अहिलेजस्तै नेतृत्व, अहिलेजस्तै विचार र अहिलेजस्तै बासी बानि, बासि प्रवृत्ति लिएर अगाडी बढ्यौँ भने आउने परिस्थिति कांग्रेसको निम्ति अत्यन्त चुनौतिपूर्ण हुन्छ। त्यो लोकतन्त्रको निम्ति पनि चुनौतिपूर्ण हुन्छ।’
नेता केसीले काँग्रेस भित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले आफूहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने उल्लेख गरे।

