काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भैसकेपछि ट्याक्सीबाट जफत भएको ठूलो परिणामको सुन छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ।
विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।
उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क(कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए।
समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ।
त्यस्तै अहिलेलाई भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी समेत गरेको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए।
राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।
हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो।
विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।

