काठमाण्डौ । महाकाली नदीमा पानीको सतह खतराको तह नजिक पुग्न लागेको छ । डडेलधुरा क्षेत्रको महाकाली नदीमा पानीको बहाव अहिले ६ दशमलव ८४ मिटर पुगेको छ । सात मिटर पुगेमा खतराको तह मानिन्छ ।
यस्तै, कर्णाली नदीमा पानीको बहाव बढ्दो छ । सुर्खेतको कर्णाली नदीमा अहिले पानीको बहाव ७ दशमलव ६९ मिटर पुगेको छ । निरन्तर वर्षा भइरहेकाले कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । कर्णालीमा पानीको सतह ८ मिटर पुगेमा खतरा तह मानिन्छ ।
यस्तै, बर्दियाको बबई नदीमा पानीको बहाव ७ दशमलव १६ मिटर पुगेको छ । त्यहाँ पानीको सतह ८ मिटर पुगे खतराको तहमा पुग्छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
यसैबीच, कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् ।
यस्तै, चितवनमा पनि नारायणी नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नारायणी नदीमा पानीको बहाव ७ दशमलव ३५ मिटर पुगेको छ । त्यहाँ पानीको सतह ९ मिटर पुगे खतरा मानिन्छ ।
Add Comment