काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणले कर्णाली प्रदेशमा हवाई उडानमा लगाएको प्रतिबन्ध हटाएको छ ।
प्राधिकरण कर्णाली प्रदेशमा दिउँसो १२ बजेपछि हवाई उडानमा रोक लगाउने निर्णयबाट पछि हटेको हो । प्राधिकरणले साउन १२ गते हवाई सुरक्षालाई मध्यनजर गर्दै दिउँसो १२ पछि हिमाली तथा पहाडी क्षेत्रमा व्यावसायिक तथा चार्टर्ड उडानमा रोक लगाएको थियो ।
प्राधिकरण पछि हटेसँगै अब पहिलेकै नियम लागू हुनेछ । अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) कायम भएको सुनिश्चिततापछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि उडान अनुमति दिने प्राधिकरणले जनाएको छ ।
यो पनि स्क्यानको प्रस्टीकरण- कर्णालीमा हवाई उडान प्रतिबन्ध पूर्वाग्रह राखेर गरिएको होइन
प्राधिकरणले दिउँसोको समयमा हवाई उडानमा रोक लगाउने निर्णय गरेपछि कर्णालीमा चौतर्फी विरोध भएको थियो । प्राधिकरणको नयाँ नियमले दिउँसोको समयमा जहाज तथा हेलिकोप्टर उडानमा रोक लाग्दा हुम्लामा चार बालकले ज्यान गुमाएका थिए भने बिरामी, सुत्केरी, खाद्यान्न र निर्माण सामग्री ढुवानीमा असर परेको थियो ।
बुधबार कर्णाली प्रदेशका सांसद तथा सरोकारवालाहरूले पर्यटनमन्त्री सुदन किराँती र महानिर्देशक प्रदीप अधिकारीसँग सघन छलफल गरेपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको हो ।
यसअघि उड्डयन प्राधिकरणले कर्णालीमा मनसुन अवधिका लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको थियो । क्यानले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकोप्टर वा जहाज पहाडमा ठोक्किएर धेरै दुर्घटना भएकाले हवाई सुरक्षा नीतिअनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको बताएको थियो ।
Add Comment