खानेपानी आयोजनामा पाइपको विवाद बढ्यो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटहरेमा सञ्चालित मारेकटहरे खानेपानी आयोजनामा पाइपमा विवाद बढेको छ । जिल्ला खानेपानी कार्यालयबाट दिएको पाइप अध्यक्ष नारद कट्वालल दुरुपयोग गर्न खोजेको भन्दै छानबिन गर्न माग गरिएको छ ।

महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय वडा नम्बर दुईका वडाध्यक्ष पदम रखाल लगायत स्थानीयले जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा छानबिन गरिदिन माग गरेको हो । जिल्लाबाट ल्याइएको पाइप सिधुवा बजारको एक पसलमा झरेको गुनासो आएपछि हामीले किन सिधुवामा झारियो भनेर बुझिदिन कार्यालयलाई अनुरोध गरेका वडाध्यक्ष पदम रखालले बताए । पाइपमा विवाद देखिएपछि यस्तो कार्यमा विवाद देखिनु हुन्न भनेर छानबिनको माग गरेको मेयर ध्रुवराज रायले जानकारी दिए ।

गत फागुन दुई गते खानेपानी कार्यालयबाट लगिएको पाइप सिधुवाको पसलमा झारिएको स्थानीयको आरोप छ । तर अध्यक्ष नारद कटवालले भने पाइप ल्याएको सवारीसाधनले गाँउगाँउसम्म पाइप पुर्‍याउने अवस्था नरहेपछि अर्को सवारीसाधन खोजेर लैजान गन्तव्यमा नपुर्‍याई बिचबाटमै पाइप झार्नु परेको बताए । यता प्रहरीले पाइपमा विवाद देखिएपछि सोही पाइप नगरपालिकाका प्रतिनिधि र स्थानीयको रोहवरमा पुन कागच गराई समितिका अध्यक्ष नारद कट्वाललाइ सात विभिन्न साइजको सात थान पाइप जिम्मा लगाएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका एक र दुईका करिब १२० परिवारलाई स्वस्थ खानेपानी पुर्‍याउने उद्देश्य सहित करिब १३ करोडको लागतमा क्रमगत योजना सञ्चालनमा छ । सो आयोजनाको लागि हालसम्म कार्यालयले विभिन्न साइजको ११ हजार ९ सय मिटर पाइप आयोजनालाई दिइसकेको कार्यालयका टेक्निसियन मीन बहादुर क्याप्छ्याकीले जानकारी दिए । यता आयोजनाको पाइपको बारेमा गुनासो आएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुखलाई बुझ्न लगाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलले जानकारी दिए ।