नेपालका करण चन्दलाई तेक्वान्दाेकाे अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । युरोपीयन मुलुक इटलीमा भएको सान मारिनो ओपन तेक्वान्दो च्याम्पियनसिप २०२४ को उपाधि नेपाली खेलाडी करनबहादुर चन्दले जितेका छन् । दुबई पुलिस क्लबमा आवद्ध रहि सोही क्लबको प्रतिनिधित्व गर्दै उनले यस प्रतियोगताको ९५ किलोतर्फबाट स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगितमा यूएई, ग्रिक, फान्स, स्पेन, भारत लगायतका देशहरुको सहभागिता थियो । सान मारिनो ओपन तेक्वान्दोको उपाधि जितेसँगै तेक्वान्दो खेलाडी चन्दलाई अब अस्ट्रेलिया ओपन च्यान्पियनसिप जी रेङ्किङ् प्रतियोगितामा खेल्ने अवसर मिल्दैछ । दुबई पुलिस क्लबको तेक्वान्डो प्रशिक्षक जलिलका अनुसार दुबई पुलिसले नेपाली खेलाडीलाई आफ्नो प्रतिनिधि बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन लागेको यो पहिलो पटक हो ।

चन्दले यसअघि अन्तर्राष्ट्रिय खुला चौँथो यूएई कोरिएन फ्रेन्डसिप तेक्वान्दोमा समेत स्वर्ण पदक जितेका थिए । यसैगरि, चन्दले मेक्सिको, बेल्जियम, स्पेन, जर्मनी, स्वीजरल्याण्ड लगाएतका अन्य मुलुकमा भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि उपाधि हात पारिसकेका छन् ।

तेक्वान्दोमा नेपालको प्रतिनिधित्वलाई बलियो बनाउदै आएका चन्द भने नेपालमा तेक्वान्दोको उपलब्धिबारे खास चर्चा हुने नगरेकोमा दुखेसो गर्छन् । नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय उपाधि दिलाउदै आएपनि यसको सही मूल्यांकनको अभाव रहेको उनको भनाई छ । तेक्वान्दोमा लगानी समेत न्यून रहेकाले पनि यस क्षेत्रको विकासमा समस्या भइरहेकाले सरकारले यसतर्फ ध्यान दिन उनको आग्रह छ ।