त्रिविको १ हजार रोपनी जग्गा हिनामिना,पदाधिकारी नै जिम्मेवार रहेको छानबिन समितिको ठहर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि को १ हजार रोपनी जग्गा हिनामिना भएको पाइएको छ । जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको छानबिन समितिको ठहर छ ।

त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले ३ हजार ७ सय रोपनी जग्गामा १ हजार रोपनी जग्गा विभिन्न संघ संस्थाले प्रयोग गरिरहेको पत्ता लगाएको हो । ‘जग्गा संघ संस्थालाई बाँडेको फेला परेको छ । त्रिविको १ हजार रोपनी जग्गा मिचिएको पनि देखिन्छ,’ खोजबिनमा संलग्न एक सदस्यले भने ।

संघ संस्थालाई जग्गा बाँड्न त्रिविकै पदाधिकारी संलग्न भएको र उनीहरुमाथि थप अनुसन्धान गरी कारबाही गर्न समितिले सुझाव दिएको छ । ‘त्रिविको पदाधिकारी जग्गा बाँडफाँटमा संलग्न भएको प्रतिवेदनले औंल्याएको छ । पदाधिकारीमाथि थप अनुसन्धानको खाँचो देखिन्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।६ महिनाको खोजबिनमा नसोचेको ठाउँको जग्गा पनि बाँडिएको पाइएको छ ।

पुल्चोक र मिनभवनमा रहेको त्रिविको जग्गा पनि हिनामिना भएको समितिको निष्कर्ष छ । काठमाडौं बाहिर पनि धेरै ठाउँमा त्रिविको जग्गा अतिक्रमण भएको निष्कर्ष निकालेको खोजबिन समितिले समय अभावका कारण उपत्यका बाहिरको जग्गामा अझै अध्ययन आवश्यक रहेको औंल्याएको छ । ६ महिनाको समयमा सबै ठाउँमा पुग्न गाह्रो भएकाले थप अध्ययनको आवश्यक रहेको खोजबिन समितिको भनाइ छ ।

समितिले प्रतिवेदन शिक्षा मन्त्रालयलाई बुझाएको छ । तर यसलाई मन्त्रिपरिषदमा लगेपछि मात्र औपचारिकरुपमा खोल्ने बताइएको छ । मन्त्रिपरिषद्बाट समिति बनाइएकाले प्रतिवेदनमाथि मन्त्रिपरिषद्ले निर्णय गरेपछि थप काम शिक्षा मन्त्रालयले गर्ने तयारी छ ।

शिक्षा मन्त्री विद्या भट्टराई क्याबिनेटबाट निर्णय भएपछि मात्र थप काम मन्त्रालयले गर्ने बताउँछिन् । ‘प्रतिवेदन मन्त्रालयमा बुझाउनु भएको छ । क्याबिनेटले निर्णय गरेर समिति बनाएको हो । त्यसैले क्याबिनेटमै प्रतिवेदन खोल्ने हो । हामीले खोलेका छैनौं,’ अनलाइनखबरसँग उनले भनिन् ।

छानबिन समितिका सदस्य जानकीबल्लभ अधिकारी प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियामा रहेको बताउँछन् । ‘प्रतिवेदन मन्त्रालयमार्फत बुझाउने भनेको थियो । मन्त्रीज्युले प्रधानमन्त्रीलाई बुझाएपछि सार्वजनिक गर्ने भनिएको छ,’ उनले भने।सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए ।समितिलाई त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्ति खोजी गरी प्रतिवेदन पेस गर्न भनिएको थियो ।