पुनःस्थापना केन्द्रमा कुटपिटबाट एकको मृत्यु, सात जना पक्राउ

कलैयास्थित नव जन्म पुनःस्थापना केन्द्रमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार, केन्द्रमा रहेका कलैया-९ निवासी ३७ वर्षीय धीरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको बिहीबार मध्यरातमा कुटपिटबाट मृत्यु भएको हो।

मण्डल १५ दिनअघि मात्र उक्त पुनःस्थापना केन्द्रमा भर्ना भएका थिए। घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि कुटपिटमा संलग्न व्यक्तिहरूको संलग्नता पुष्टि भएको छ। फुटेजमा उनलाई सामूहिक रूपमा निर्घात कुटपिट गरिएको स्पष्ट देखिन्छ।

प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार, अनुशासन भंग गरेको आरोपमा केन्द्रका सञ्चालकसहित परामर्शदाताले मण्डललाई कुटपिट गरेका थिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा पुनःस्थापना केन्द्रका सञ्चालक साहेबाबु मंसुरका भाइ तथा केन्द्रको व्यवस्थापक २९ वर्षीय तमन्ना अलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। तमन्ना अली नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नम्बर ३ का सभापति रहेको खुलेको छ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा कलैया-३ का १९ वर्षीय सरफराज मंसुरी, वडा ४ का २२ वर्षीय निज सर्रारा, वडा ६ का २० वर्षीय महम्मद आँसु मियाँ, वडा १ का २४ वर्षीय अरूण सर्राफ, वडा २ का २१ वर्षीय परमेश्वर साह र १९ वर्षीय सागर गुप्ता रहेका छन्।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।