देशलाई थप संकटबाट जोगाउन नयाँ राजनीतिक समझदारी आवश्यक : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई थप संकटबाट जोगाउन नयाँ राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन्।

धनगढीमा आइतबार आयोजित प्रदेशस्तरीय विरोध सभामा अध्यक्ष लिङ्देनले देशको आर्थिक, राजनीतिक र सामाजिक अवस्था कमजोर हुँदै गइरहेको भन्दै वर्तमान प्रणालीले जनताको अपेक्षा पूरा गर्न नसकेको धारणा व्यक्त गरे।

अध्यक्ष लिङ्देनले वर्तमान शासकीय प्रणाली असफल भएको भन्दै राजसंस्थालाई अभिभावकको भूमिकामा पुनर्स्थापना, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् तथा सांसदहरू मन्त्री नबन्ने व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव गरे। उनका अनुसार, यस्तो प्रणालीले देशलाई स्थायित्व र समृद्धितर्फ डोहो¥याउन सक्छ।

यस्तैराप्रपा निर्देशन समितिका अध्यक्ष तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले देश राजनीतिक, शासकीय, आर्थिक र परराष्ट्र नीतिका दृष्टिले गम्भीर समस्यामा फसेको बताउँदै राजनीतिक दलहरूबीच एकता अपरिहार्य भएको उल्लेख गरे। उनले निषेधको राजनीति त्यागेर साझा समाधान खोज्नुपर्नेमा जोड दिए।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले देशलाई सही मार्गमा लैजान शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार, वर्तमान प्रणालीले जनताको सेवा गर्न नसकेकोले नयाँ सोच आवश्यक छ।

विरोध सभामा सहभागी नेताहरूले देशको समसामयिक समस्यालाई हल गर्न पुरानै सोचमा अडिग रहनुभन्दा नयाँ विकल्पको खोजी गर्नुपर्ने बेला आएको बताएका छन्। देशलाई समृद्धितर्फ लैजान संविधान संसोधनसहितको नयाँ राजनीतिक संरचना आवश्यक रहेको उनीहरूको ठहर छ।

राप्रपाले मुलुकलाई सही दिशामा डोहो¥याउन राजनीतिक दलहरूलाई निषेधको राजनीति त्याग्न र राष्ट्रको समृद्धिका लागि सबै शक्ति मिलेर अघि बढ्न आग्रह गरेको छ।सभामा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे, दीपकबहादुर सिंह, कुन्तिकुमारी शाही, जयन्त चन्द, धर्मराज जोशी लगायतका नेताहरूले पनि सम्बोधन गर्दै देशलाई संकटबाट निकाल्न राप्रपाले अघि सारेको अवधारणा नै उत्तम विकल्प हुने दाबी गरेका थिए।