२३ वर्षअघि ध्वस्त भएको अछाम दरबारको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको यो ऐतिहासिक दरबार ध्वस्त भएको थियो।
सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दरबारको उद्घाटन गर्दै गृह मन्त्रालयलाई औपचारिक रूपमा हस्तान्तरण गरे।
सहरी विकास मन्त्रालय मातहत पुनःनिर्माण भएको तीनतले दरबारमा काठको बढी प्रयोग गरी कलात्मक बनाइएको छ। कुल २ करोड ४८ लाख लागतमा सम्पन्न पुनःनिर्माणसँगै ऐतिहासिक दरबार पुनः आफ्नो पुरानो स्वरूपमा फर्किएको छ।
उद्घाटन समारोहमा उपप्रधानमन्त्री सिंहले अछामको पहिचान बोकेको यस दरबारको संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिए। साथै, आउँदा पुस्तालाई यसको ऐतिहासिक महत्वबारे जानकारी गराउनुपर्ने बताउँदै दरबारको थप विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरालगायतले मन्तव्य राखेका थिए।


Add Comment