काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि छलफल भएको छ। सांसदहरूबाट आएका संशोधनहरू समावेश गर्दै समितिले दफा ३५ सम्मको छलफल टुंग्याएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।
सांसदहरूले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउने, जाँचपास प्रक्रियामा रहेको झन्झट हटाउने, कर्मचारीहरूको तजबिजी अधिकार सीमित गर्ने, वस्तुहरूको क्वारेन्टाइन तथा गुणस्तर परीक्षणका लागि आवश्यक पूर्वाधार तयार गर्ने लगायतका विषयमा संशोधन प्रस्ताव गरेका छन्।
सरकारले भन्सार जाँचपास प्रक्रियालाई प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्षराष्ट्र रहेको क्योटो महासन्धि अनुरूप भन्सार ऐन संशोधन आवश्यक भएको भन्दै विधेयक पेश गरेको हो। नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र भएकाले महासन्धिमा उल्लेखित प्रावधानहरू समयमै कार्यान्वयन गर्नुपर्ने बाध्यता छ।
विधेयकमा भन्सार महसुल तथा छुट सुविधा, विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगहरूलाई दिइने छुट, भन्सार बिन्दुमा सवारी साधनको आगमन, प्रस्थान घोषणा तथा जाँचपासलगायतका विषयमा समितिमा सहमति जुटिसकेको छ।
सवारी साधन भन्सार क्षेत्रमा प्रवेश गरेपछि १२ घण्टाभित्र जानकारी दिनुपर्ने, मालवाहक तथा यात्रुवाहक सवारी नेपाल प्रवेश वा प्रस्थान गर्नुअघि अनिवार्य जाँच गराउनुपर्ने, जाँचपास नगरिकन वस्तु ढुवानी गर्न नपाइने व्यवस्था विधेयकमा समावेश गरिएको छ।
समितिको आगामी बैठकमा दफा ३५ पछिका व्यवस्थाहरूमा थप छलफल हुने सभापति चालिसेले जानकारी दिए।


Add Comment