सुनिता प्रसाईँ
खुशी बर्साउने मनहरू सँग,
सधैँ टाढा हुन्छौँ हामी ,
चोट दिने मनहरूकै ,
सधैँ सपना बोक्छौँ हामी ।
न सम्झाउन जान्छ,
न बिर्सन मान्छ,
कति कारागार मै कैदी हुन्छ,
कति स्वाभिमानी छ यो मन,
बरु बिर्सिदिन्छु तारिख धाउँदिन भन्छ ।
सागर पनि यही मन हुन्छ,
मरुभूमि पनि यही मन बन्छ,
कहिले मुस्कुराउँछ त ,कहिले तड्पिएर रुन्छ,
कति विचित्रको छ यो मन ।
टाढाको खुशी कहिल्यै न खोजौँ,
खुशी आफैँ सँग छ , गहिरिएर सोचौँ,
बिना कामना यो मनलाई,धरापमा नपारौँ ,
सुन्दरताको अभिन्न अङ्ग,
यो मुस्कान सधैँ जीवित राखौँ ।


Add Comment