मिथिला महाकुम्भ: १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाममा सम्पन्न भएको छ। परिक्रमा अन्तर्गत अन्तिम दिन भक्तजनहरूले पञ्चकोशी अन्तरगृह परिक्रमा गरी परम्परागत रूपमा यस धार्मिक अनुष्ठानको समापन गरेका छन्।

फाल्गुन शुक्ल प्रतिपदाका दिन अनुमानगढीबाट प्रारम्भ भएको यो परिक्रमा फाल्गुन पूर्णिमासम्म निरन्तर चलेको थियो। यस वर्षको परिक्रमामा लाखौँ तीर्थयात्री सहभागी भएका थिए। १४ दिनसम्म परिक्रमा गरेका श्रद्धालुहरू अन्तिम दिनको पञ्चकोशी अन्तरगृह परिक्रमा अनिवार्य रूपमा सम्पन्न गरी घर फर्किएका छन्।

परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै भक्तजनहरूले बिहानैदेखि अन्तिम चरणको परिक्रमा गरेका थिए। नेपालका १०७ किलोमिटर र भारतका २६ किलोमिटर गरी कुल १३३ किलोमिटर लामो यो यात्रा भक्तजनहरूले खाली खुट्टा पूरा गरेका छन्। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यस परिक्रमाले मिथिला क्षेत्रको गौरवलाई थप उजागर गरेको छ।