तीनकुने घटनामा १०८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको झडपसम्बन्धी घटनामा प्रहरीले अनुसन्धान पूरा गरी १०८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार शुक्रबार सो प्रतिवेदन सरकारी वकिल कार्यालयमा दर्ता गरिएको हो। यस घटनामा प्रहरीले ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

सरकारी वकिल कार्यालयका प्रवक्ता गोकुलबहादुर निरौलाले आइतबारभित्र अभियोगपत्र दायर गरिने जानकारी दिए। उनका अनुसार चार जना बालबालिकासहित १०८ जनाविरुद्ध पाँचवटा फरक–फरक कसुरमा मुद्दा चलाउने प्रस्ताव गरिएको छ।

यस्ता छन् प्रस्तावित मुद्दाहरू:

आपराधिक उपद्रव

संगठित अपराध

राज्यविरुद्धको कसुर

कर्तव्य ज्यान

ज्यान मार्ने उद्योग

प्रवक्ता निरौलाका अनुसार, प्रहरी प्रतिवेदनमा केही हेरफेर हुन सक्ने भए पनि आइतबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिनेछ।

प्रहरीले ६१ जनालाई आपराधिक उपद्रव र संगठित अपराध तथा २९ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको थियो। तीमध्ये ३४ जना (उपद्रवसम्बन्धी) र ३ जना (राज्यविरुद्धको कसुरमा) हाजिरी जमानीमा छुटेका छन्।

जमानतमा छुटेका नेताहरू:

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र

महामन्त्री एवं सांसद धवलशमशेर राणा

हिरासतमा रहेका व्यक्ति:

प्रदर्शनको कमान्डरको भूमिकामा रहेका दुर्गा प्रसाईं हाल हिरासतमै छन्। सरकारी वकिल कार्यालयले अहिले प्रहरीको प्रतिवेदनको विश्लेषण गरिरहेको र आवश्यक प्रक्रिया पूरा गरी मुद्दा अघि बढाउने तयारी गरिरहेको जनाएको छ।