काठमाडौं । सर्वोच्च अदालतले दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक एनओसी (विदेश अध्ययन अनुमति) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साल वैशाख २८ गतेको निर्णय र वैशाख ३० गते प्रकाशित सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो।
अदालतले शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा अनुमति रोक्नु विद्यार्थीका लागि अपूरणीय क्षति हुने भन्दै रिटको अन्तिम निर्णय नभएसम्म सो निर्णय लागू नगर्न भनेको छ।
सरकारको निर्णयविरुद्ध पीडित विद्यार्थी एलिजा पाण्डेसहितले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले मन्त्रालयलाई १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ।


Add Comment