वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब सम्भव छैन : अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब सम्भव नहुने दाबी गरेका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले २१औँ शताब्दीमा जनताले निरङ्कुशता र वंशवाद स्वीकार नगर्ने स्पष्ट पारे। राजावादी आन्दोलनका नाममा विभिन्न पात्र फेरबदल गर्दै गणतन्त्र उल्ट्याउने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति जनताले साथ नदिने विश्वास व्यक्त गरे।

उनले जनताले संघर्षबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने जिकिर गर्दै आन्दोलन सफल नहुने भए पनि सतर्क रहनु आवश्यक रहेको बताए।

सरकारलाई जनतामा नैराश्यता नफैलाउन निरन्तर खबरदारी गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले गणतन्त्रपछि मुलुकमा सकारात्मक परिवर्तन आएको र त्यसलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए

शान्ति प्रक्रिया, संविधानसभा र गणतन्त्र स्थापनामा नेपाली कांग्रेस र माओवादीबीच ऐतिहासिक सहकार्य रहेको स्मरण गर्दै उनले शान्ति दिगो बनाउन दुबै दल मिलेर जानुको विकल्प नभएको धारणा राखे।