ललितपुरमा घर भाडामा लिएर क्रिप्टो धन्दा, ६ चिनियाँसहित ५२ जना पक्राउ

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घर भाडामा लिएर अवैध क्रिप्टो कारोबार गर्दै आएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिक रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मंगलबार छापा मारी ५२ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।

ब्युरोका अनुसार ललितपुर महानगरपालिका–४ स्थित वालिफलको दमकल चोक र काठमाडौं महानगरपालिका–१३ चागल क्षेत्रमा घर भाडामा लिएर सो कारोबार सञ्चालन हुँदै आएको थियो।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमध्ये ६ जना चिनियाँ नागरिकलाई क्रिप्टो कारोबारमा प्रत्यक्ष संलग्न रहेको पुष्टि गर्दै डिजिटल मुद्रासम्बन्धी मुद्दा दर्ता गरेको छ। बाँकी ४६ जनामाथि अनुसन्धान जारी राखिएको छ।

घटनास्थलबाट प्रहरीले स्रोत नखुलेको १३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ समेत बरामद गरेको छ।