प्रधानमन्त्री स्पेनबाट फर्कदा किन चुइँक्क पनि बोलेनन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सकेर स्वदेश फर्किए। तर, विगतका अभ्यासविपरीत यसपटक उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग नबोलीकनै बालुवाटार लागे। प्रधानमन्त्री नबोल्ने निर्णय अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमण बारेको प्रेस नोट वाचन गरेर दिए।

प्रधानमन्त्री ओली ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघको निमन्त्रणामा स्पेन गएका थिए। २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उनले सम्मेलनबाहेक स्पेनका नरेश फिलिप द्वितीय, प्रधानमन्त्री पेद्रो सान्चेज, अन्य समकक्षीहरूसँग भेटवार्ता गरे। नेपाली दूतावासको निरीक्षण र रियल म्याड्रिडको रंगशाला अवलोकन पनि भ्रमणको हिस्सा रह्यो।

तर, स्वदेश फर्किएपछि ती सबै गतिविधिको विवरण स्वयं प्रधानमन्त्रीले नभएर सचिवले सुनाउदा रिपोर्टिङका लागि त्यहाँ पुगेका सञ्चारकर्मीलाई केही खिन्न महसुस भएको थियो । विगतमा चीन, भारतजस्ता भ्रमणबाट फर्किंदा ओली आफैंले पत्रकारसँग संवाद गर्दै प्रश्नहरूको जवाफ दिने गर्थे।

यसपटक किन चुप लागे त? प्रधानमन्त्री सचिवालयले ‘आज नबोल्ने भनेरै नबोल्नुभएको हो’ भन्दै सामान्यीकरण गर्न खोजे पनि समय, सन्दर्भ र पछिल्ला राजनीतिक घटनाक्रमले उनको चुपचापलाई अर्थपूर्ण बनाएको छ।

किन मौन प्रधानमन्त्री?

१. मदन भण्डारीबारे विवादास्पद अभिव्यक्ति

स्पेन जानुअघि मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्रीले दिएका केही अभिव्यक्तिहरू एमालेभित्रै विवादास्पद बनेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा पुनः प्रवेशको घोषणापछि ओली नेतृत्व असहज देखिएको छ। वरिष्ठ नेता ईश्वर पोखरेल लगायत केही नेताहरू विद्या भण्डारीतर्फ आकृष्ट छन्।

२. निजामती सेवा विधेयकमाथिको विवाद

प्रधानमन्त्री स्पेनमै रहँदा निजामती विधेयकको विवाद सतहमा आयो। संसदको राज्य व्यवस्था समितिबाट पास भएको विधेयकमा कुलिङ अफ अवधि हटाइएको विषयले एमाले नेतृत्वकै भूमिकामाथि प्रश्न उठेको छ। मन्त्रालय तथा सभामुख दुवै एमालेका भए पनि प्रतिक्रिया आउन सकेको छैन।

संविधानिक नियुक्तिमाथि सर्वोच्चको निर्णय

ओलीकै पालामा भएका ५२ संवैधानिक नियुक्ति सदर भएको सर्वोच्चको फैसलामा न्यायाधीशबीच मतभेद रह्यो। फैसलाको राजनीतिक मूल्यांकन भइरहेका बेला उनीसँग पत्रकारले यसबारे प्रतिक्रिया माग्न सक्थे।

पद हस्तान्तरणबारे विदेशी भूमिमा घोषणा

चीन भ्रमणपछि विमानस्थलमा बोलेर देउवालाई १८ महिनापछि प्रधानमन्त्री बनाउने भनेका ओलीले यसपटक स्पेनमै रहँदा समयअगावै पद हस्तान्तरण गर्ने घोषणा गरे। यस्तो संवेदनशील विषयमा नेपाली भूमिमा स्पष्ट धारणा नदिई विदेशमै घोषणा गर्नुको औचित्यमाथि प्रश्न उठेको छ।

सचिव राईको ब्रिफिङमा के भनियो?

प्रधानमन्त्रीले सम्मेलनमा वित्तीय स्रोत परिचालन, जलवायु वित्त, सहुलियतपूर्ण ऋण र अनुदानको पहुँच जस्ता विषयमा नेपाललगायत अल्पविकसित मुलुकको तर्फबाट आवाज उठाए। उनले बहुपक्षीय प्रणाली र अन्तर्राष्ट्रिय सहयोग मजबुत पार्न अपिल गरे।

स्पेन भ्रमणले द्विपक्षीय सम्बन्ध प्रगाढ बनाएको, नेपाली श्रमिक र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। तर, यी सबै सामान्य कूटनीतिक औपचारिकतामात्र हुन्। भ्रमणको समग्र प्रभावकारिता, खर्च र उपलब्धिका सन्दर्भमा प्रधानमन्त्रीले आफैं स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने अपेक्षा थियो।