१८ औं वार्षिक साधारण सभाबाट हिमालयन लाइफको ८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८ औं वार्षिक साधारणसभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ।

सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३ सय ६ को ८ प्रतिशतअनुसार ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ बराबरको नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने निर्णय गरेको हो।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफारनोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू स्वीकृत गरेको छ। साथै, कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको सोही आवको वित्तीय विवरण पनि पारित गरिएको छ।

सभाले आगामी आ.व. २०८१/८२ का लागि एससीलाल एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टलाई बाह्य लेखापरीक्षकका रूपमा नियुक्त गरेको छ। साथै, नियमनकारी निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक परेमा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गरिएको छ। कम्पनी ऐनको दफा १०५(१) (ग) अनुसार आव २०८०/८१ को खर्च पनि अनुमोदन गरिएको छ।

कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तव्य राखेकी थिइन् भने अन्तिममा सञ्चालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए ।