पूर्वसचिव ढुङ्गेलको ‘निजामती प्रशासनमा कोतपर्व’ सार्वजनिक

काठमाडौं । सरकारका पूर्वसचिव एवं लेखक डा द्वारिकानाथ ढुङ्गेलद्वारा लिखित पुस्तक ‘निजामती प्रशासनमा कोतपर्व’को विमोचन भएको छ । शनिबार आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । केसल्या प्रकाशनद्वारा प्रकाशित यस पुस्तकमा १० अध्यायमा निजामती प्रशासनको सबै उतारचढावको दस्तावेज भएको समीक्षकहरूले टिप्पणी गरेका छन् ।

पुस्तक नेपालको निजामती प्रशासनको विकासक्रम, त्यसमा विदेशीको संलग्नता र भूमिका, प्रशासन एवं राजनीतिकसम्बन्ध, निजामती प्रशासनप्रतिको राजनीतिक व्यवहारका कारण यस क्षेत्रले भोग्नुपरेका परिणामलगायत विषयरे तथ्यहरू प्रस्तुत गरिएको छ ।

पुस्तकमा २००७ सालदेखि २०४८ साल भदौसम्मको निजामती प्रशासनको इतिहास, २०४८ असोजदेखि २०५२ सालसम्मका निजामती प्रशासनसम्बद्ध घटनाक्रम, नीतिगत संरचना र त्यसका प्रभावलाई विश्लेषण गरिएको छ ।

पुस्तकमा लेखकले मुलुकको निजामती सेवा कस्तो हुनुपर्दछ भन्ने आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले वर्तमान सङ्घीय शासन व्यवस्थाले निजामती प्रशासनका विषयमा गरेका प्रयासलाईसमेत समेटनु भएको छ । पाठकलाई नेपालको प्रशासनिक इतिहासको एक संवेदनशील र जटिल तहमा प्रवेश गराउने समीक्षकहरूको टिप्पणी छ ।

विमोचन कार्यक्रममा पूर्वन्यायाधीश टोपबहादुर सिंहले देशको शासन व्यवस्थालाई गुणस्तरी बनाउन निजामती प्रशासन सुदृढ बनाउनुपर्नेमा जोड दिँदै यस पुस्तकले निजामती प्रशासनमा सुधार गर्नुपर्ने पक्षमा मार्गदर्शन गराउने विश्वास व्यक्त गरे । ‘कुनै पनि स्वतन्त्र र सार्वभौम मुलुकमा निजामती प्रशासन सुदृढ भएन भने देशको शासन व्यवस्था जनकेन्द्रित र उत्तरदायी हुन सक्दैन,’ उनले भने ।

डा. तीर्थबहादुर श्रेष्ठ, पूर्वप्रशासक पद्यामोहिनी माथेमा, अर्जुनमणी दीक्षित, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा. दिपेश घिमिरे र पत्रकार गजेन्द्र बुढाथोकीले यस पुस्तकमाथि समीक्षा गरेका थिए । उनीहरूले यो पुस्तक केवल प्रशासनिक अभ्यासको दस्तावेज मात्र नभइ सत्ता, संरचना र सङ्घर्षको बौद्धिक अन्वेषण भएको टिप्पणी गरे ।

पुस्तकले प्रशासन तथा व्यवस्थापन बुझ्न सहज बनाउने उनीहरूको धारणा छ । पुस्तकलाई निजामती प्रशासनको ‘रिफर्म’ गर्न सहयोग गर्ने समीक्षकहरूको बुझाइ छ ।

लेखकले यस पुस्तकलाई प्रशासन पुनर्गठन योजना आयोग, २०१३ का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य तथा सदस्य कुलनाथ लोहनी, सरकारका सबै सचिव, कुलशेखर शर्मा, आयोगका सचिव रामचन्द्र मलहोत्रा र सल्लाहाकार बिजी मुर्देश्वरप्रति समर्पण गरेका छन् ।

पुस्तकमा निजामती प्रशासनमा कोतपर्व भन्नाले २०४९ साल कार्तिक २१ गतेको घटनालाई लिइएको छ । लेखकले पुस्तकको शीर्षकबारे स्पष्ट पार्दै भने, ‘कैयौंले २०४६ सालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना पश्चात् मुलुकको निजामती सेवामा आएको भूइचालो भन्ने गरेका छन्, मैले भने निजामती प्रशासनमा कोतपर्व भन्ने गरेको छु ।’

पूर्वसचिव, प्राज्ञिक चिन्तक तथा लेखक डा. ढुङ्गेलले पुस्तकमा आफनो पेसागत अनुभवलाई उतारेको जानकारी दिँदै निजामती प्रशासनको जग बसाउन यो पुस्तकले महत्त्पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले वर्तमान निजामती सेवामा सुधारको आवश्यकता औँल्याए ।