काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ । यस वर्षको वर्षात् सुरू हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्व विभागले नै पालले कुमारी घरमा ओत लगाएको हो । पानी चुहिन थालेपछि त्रिपालको ओत लगाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । गत आर्थिक वर्षमै कुमारी घरमा पानी चुहिन थाले पनि यो आर्थिक वर्षमा पनि बजेट नभएकाले अर्को वर्ष बजेट राखेर मर्मत गरिने उनको भनाई छ। इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारी र वसन्तपुर दरबार क्षेत्रका स्थानीयवासी भने एक दशकअघिको भूकम्पदेखि नै कुमारी घर टेकोका भरमा राखिए पनि सरोकार भएका निकायले ध्यान नदिएको गुनासो गरे।
कुमारी घरमा दश वर्षअघिको भूकम्पले क्षति पुर्यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे। पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनर्निर्माणको सूचीमा राख्न निर्देशन दिएका थिए । तर देशका कार्यकारी प्रमुखले दिएको निर्देशन पनि कार्यान्यवयन नहुँदा अहिले कुमारी घर पालको ओतमा जोगाउनुपर्ने अवस्थामा पुगेको हो ।
सनातनदेखि चलिआएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरूआत मल्लकालमा भयो । कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इतिहास छ । त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनर्निर्माण भएको छैन । करिब तीन दशकअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ । मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्र जीर्ण बनेको छ ।
भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ । कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ । इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ । वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ ।


Add Comment