तुर्कमेनिस्तानबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ । तुर्कमेनिस्तानको भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन । प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर फर्केका हुन् । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका थिए ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशले सो सम्मेलनमा भाग लिएका थिए ।

सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्ठित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

ती मुलुकको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित भएको जनाएको छ ।