काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ मा पुर्ननिर्माण गरिएको ऐतिहासिक सम्पदाको काठमाडौंका मेयर बालेन शाहले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा कतै नदेखिने मेयर बालेन सम्पदा लगायका क्षेत्रमा भने पुग्ने गरेका छन् । सोही अनुरुप पुर्ननिर्माण गरिउको अशोक चैत्य महाविहार देवघरको मेयर शाहले उद्घाटन गरेका हुन् । सांस्कृतिक सम्पदा, धार्मिक आस्था र ऐतिहासिक धरोहरको समृद्ध गाथा बोकेको काठमाडौं महानगरपालिकाले एउटा नयाँ अध्यायको थालनी भएको मानिएको छ ।
कार्यक्रममा बोल्नुहुँदै काठमाडौं महानगरपालिका २७ का वडा अध्यक्ष योगेश कुमार खड्गीले अशोक चैत्य महाविहार हाम्रो पहिचान मात्र नभएर गौरव भएको र यसलाई जोगाउनुका साथै समुन्नत बनाउनु महानगरको कर्तव्य भएको बताए । चैत्य महाविहार देवघर निर्माण सम्पदाको सम्मान र भावी पुस्ताको लागि सन्देश भएको समेत उहाँले प्रष्ट पारे । उनले वडा कार्यालयले सम्पदासँग सम्बन्धित अन्य परियोजनाहरूमा पनि निरन्तरता दिइरहेको र यस्ता संरचनाहरू पर्यटन, शिक्षा र सामाजिक सद्भावको केन्द्र बन्ने अपेक्षा गरिएकाले संरक्षणमा विशेष जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्नु हुँदै काठमाडौं महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष नविन मानन्धरले हाम्रो मौलिक सम्पदा हाम्रो पहिचान भएकाले अशोक चैत्य महाविहार जस्तो संरचनाले काठमाडौंको सांस्कृतिक आत्मालाई थप मजबुत बनाउने बताए । उनँले महानगरपालिका महानगरभित्र रहेका पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुलाई पुरानै अवस्थामा फर्काउने अभियान नै चलाएर लागी रहेको समेत जानकारी दिए ।
२०७२ सालको भुकम्पले भत्काएका ऐतिहासिक सम्पदा पुनःनिमार्ण तथा संरक्षणका लागि काठमाडौं महानगरपालिका निरन्तर लागिरहेको छ । यसले हाम्रो बौद्धिक र धार्मिक इतिहासलाई भावी पुस्तासम्म सघन रूपमा जोडेर लैजानेछ । अशोक चैत्य परिसर काठमाडौं उपत्यकाकै एक महत्वपूर्ण बौद्ध सम्पदा स्थलको रूपमा चिनिन्छ । प्राचीन अशोक स्तम्भ र चैत्यहरू रहेको यो क्षेत्र बौद्ध धर्मावलम्बीहरूको लागि तीर्थको महत्व राख्दछ । यस क्षेत्रलाई थप व्यवस्थित र संरक्षित बनाउँदै, आधुनिक संरचना र परम्परागत शैलीको संगमसहित निर्माण गरिएको महाविहार देवघर अब सम्पूर्ण परिसरको केन्द्रबिन्दु बन्नेछ ।
म्हानगरपालिकाले काठमाडौंका सम्पदाहरूको संरक्षण र पुनर्निर्माणमा विशेष जोड दिइरहेको छ । महाविहार जस्ता परियोजनाले धार्मिक पर्यटकलाई आकर्षण गर्नेमात्र होइन, स्थानीय अर्थतन्त्र र पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अशोक चैत्य महाविहार देवघरको उद्घाटनले काठमाडौं महानगरपालिका–२७ लाई एक नयाँ सांस्कृतिक गन्तव्यको रूपमा चिनाउने छ । परम्परा र आधुनिकताको सेतु बनेको यस संरचनाले सम्पदाप्रेमी, पर्यटक र श्रद्धालुहरू सबैलाई समेट्ने छ । यस्तो पहलहरूले ऐतिहासिक सम्बन्धलाई जीवन्त बनाउँनुका साथै भोलिको पुस्तालाई गर्वका साथ सांस्कृतिक पहिचान हस्तान्तरण गराउँन सहयोग पुग्ने गर्दछ ।


Add Comment