आज गणेश चतुर्थी उपत्यकाका चार गणेशमा भव्य मेला

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अर्थात हरितालिका तीजको भोली पल्ट भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइने गरिन्छ । यो पर्व आज मुलुकभर धुमधामले मनाईँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ। शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ।
आज हरितालिकाको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेकोछ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।

बिहान हरितालिकाको व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको छ । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या बाँड्ने चलन पनि नेवार समुदायमा छ। विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य शहरमा गणेश रथयात्रा पनि गरिन्छ।