Nसुर्खेत। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ मा यसपटक प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। मुख्यतः विष्णुबहादुर खड्का र रविकिरण हमाल बीच सीधा प्रतिस्पर्धा हुने सर्वेक्षणले देखाएका छन् परम्परागत शक्ति र नयाँ पुस्ताको उदयबीचको टकरावका रूपमा यस क्षेत्रलाई हेरिएको छ।
कांग्रेसको परम्परागत आधार
नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का संगठनात्मक संरचना, पुरानो जनसम्पर्क सञ्जाल र पार्टीको ऐतिहासिक मतआधारलाई आफ्नो प्रमुख बलका रूपमा प्रस्तुत गरिरहेका छन्। सुर्खेत–१ मा कांग्रेसको लामो राजनीतिक उपस्थिति रहेको छ, जसले ग्रामीण तथा परम्परागत मतदातामाझ प्रभाव कायम राखेको मानिन्छ।
खड्काले चुनावी अभियानमा स्थिरता, लोकतान्त्रिक संस्थाको सुदृढीकरण र विकास निरन्तरताको एजेन्डा अघि सारेका छन्। पार्टीभित्र देखिएका मतभेदको चर्चा भइरहे पनि उनी भने कांग्रेस एकजुट रहेको दाबी गर्दै मतदातालाई ‘अनुभव र स्थायित्व’ रोज्न आग्रह गरिरहेका छन्।
युवा एजेन्डासहित रविकिरण
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रविकिरण हमाल युवापुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन्। भ्रष्टाचारविरुद्ध कडा अडान, सुशासन, प्रशासनिक पारदर्शिता र राजनीतिक पुस्तान्तरणलाई उनले प्रमुख मुद्दा बनाएका छन्।
२८ वर्षे युवा उम्मेदवारका रूपमा उनले “परिवर्तनको विकल्प” को सन्देश दिँदै विशेषतः युवा मतदाता र असन्तुष्ट वर्गलाई लक्षित अभियान सञ्चालन गरिरहेका छन्। सामाजिक सञ्जाल र प्रत्यक्ष जनसम्पर्कमा उनको सक्रियता उल्लेखनीय देखिएको छ।
सुर्खेत–१ यसपटक केवल उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र नभई पुरानो राजनीतिक संरचना र नयाँ पुस्ताको आकांक्षाबीचको राजनीतिक परीक्षणका रूपमा पनि हेरिएको छ। सर्वेक्षण अनुसार नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाही तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह उनलाई पछाइरहेका छन्।
सिम्ता गाउँपालिका,चिङ्गाड गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, गुर्भाकोट नगरपालिका र वीरेन्द्रनगर नगरपालिका १५,१६ वडा का ५०० मतदाता संग गरिएको अनौपचारिक छलफलमा १५९ जनाले रवि किरणलाई मत गर्ने बताए भने विष्णु खड्कालाई १२३ जनाले समर्थन गरेका छन्। त्यस्तै ध्रुवकुमार शाहीलाई १०५ , टेक बहादुर सिंहलाई ८२ र ३१ जनाले अन्य साना दललाई समर्थन गरेका छन्।
अन्ततः मतदाताको अन्तिम निर्णयले सुर्खेत–१ मा भविष्यको राजनीतिक दिशा निर्धारण गर्नेछ।


Add Comment