८१ जना सुरक्षाकर्मी सम्पर्कविहीन

काटमाठौं । बाढीपछि नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका नौ जना गरी ८१ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन् । रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ र वेत्रावतीमा तैनाथ सैनिकहरू सम्पर्कविहीन छन् । ती स्थानमा बाढीले अकल्पनीय क्षति पु¥याएको छ । सम्पर्कविहीन सुरक्षाकर्मीलगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी छ  ।

बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठुलो क्षति पु(याएको प्रारम्भिक विवरण प्राप्त भएका छन् । बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १६ वटा हेलिकोप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भइरहेका छन् ।

नेपाली सेनाका प्रवक्ता, सहायकरथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा सात वटा हेलिकोप्टरसहित एक हजार सात सय जना सैनिक परिचालन गरिएको छ । जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली रहेको छ । सेनाले हवाईसाधनबाट ९६ जना र स्थलमार्गबाट २६ गरी १२१ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पु¥याएको जनाएको छ । निजी क्षेत्रका आठ वटा हेलिकोप्टरले २९ जनाको उद्धार गरेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बेपत्ताको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थल तथा हवाईसाधनसहित, ड्रोन तथा तालिमप्राप्त कुकुरसहितको के–९ टोली परिचालन गरेका छन् । बाढीबाट तटीय क्षेत्रका घर, पसल, सडक, पुल तथा नदी किनारका संरचना तहसनहस भएका छन् ।