काठमाडौं । रुसले युक्रेनसँगको द्वन्द्व समाधानका लागि वार्ता पुनः सुरु गर्न आफू पूर्ण रूपमा तयार रहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन्। विपक्षी पक्ष तयार भएमा वार्तामा फर्किन रुस इच्छुक रहेको उनको भनाइ छ।
राजदूतस्तरीय गोलमेच बैठकमा बोल्दै लाभरोभले युक्रेन विषयमा द्विपक्षीय वा त्रिपक्षीय वार्ताका लागि रुस खुला रहेको बताए। यद्यपि वार्ताकै अवधिमा रुसी सैन्य कारबाही रोक्ने योजना नरहेको उनले स्पष्ट पारे।
रुसले पश्चिमी मुलुकमा रोक्का राखिएका आफ्ना सुन तथा विदेशी मुद्रा सञ्चितिसमेत फिर्ता ल्याउने प्रयास जारी राख्ने लाभरोभले बताए। युक्रेनमा रुसले कुनै कृत्रिम लक्ष्य नतोकेको र मानवीय क्षति न्यून गर्न आफूहरूले सक्दो प्रयास गरिरहेको उनको दाबी थियो।
लाभरोभले युक्रेनप्रतिको युरोपेली संघको नीतिको आलोचना गर्दै युरोपले मस्कोसँग सञ्चारको माध्यम स्थापना गर्न समय–समयमा प्रस्ताव गर्ने र रुसले त्यस्ता प्रस्ताव अस्वीकार नगरेको बताए।
उनले अमेरिकासँग इरानसम्बन्धी समाधानको बदलामा युक्रेन समस्या समाधान गर्ने कुनै प्रस्ताव कहिल्यै नआएको पनि दाबी गरे। साथै, संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेटवार्ता गर्ने तयारी रहेको जानकारी दिए।


Add Comment