काठमाडाैं । सीमावर्ती भन्सार र उद्योग प्रतिष्ठानबाट मालसामान ओसार्ने साधनलाई ढुवानीका क्रममा राजमार्गमा अवरोध नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यकीय वस्तु तथा सेवावाहेक अन्य सामग्रीलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको थियो । भन्सारबाट जाँचपास भएर भित्रिएका र औद्योगिक उत्पादन बोकेका गाडी काठमाडौं उपत्यका प्रवेश गर्न पाएका थिएनन् । काठमाडौं उपत्यकाका जिल्लामा कोरोना संक्रमण तीव्र बढेपछि कडाइ गरिएको थियो ।
करीब १ हप्तासम्म कन्टेनर र ट्रक ढुवानीमा विलम्ब शुुल्क (डिटेन्सन) तिर्नु परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘सरकारी निर्देशनले नाका र राजमार्गमा ढुवानीका साधनलाई रोकिँदा औद्योगिक कच्चा पदार्थ र उत्पादनको आपूर्ति प्रभावित भएको थियो । गृह मन्त्रालयले सहजीकरणको निर्देशन दिएकाले निकास मिलेको छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले भने ।
मन्त्रालयले भन्सार नाकाहरूबाट उद्योगको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ बोकेर भित्रिएका ट्रक र कन्टेनरलाई गन्तव्यसम्म जान दिन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत भास्कर दाहालले हस्ताक्षर गरेको पत्रमा मालवाहक साधनलाई गन्तव्यसम्म जान र फर्किने व्यवस्थाका लागि सहजीकरण गर्न भनिएको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।
Add Comment