मालपोत कार्यालय गुलरियाका नासु अख्तियारको पासोमा

काठमाडौं । मालपोत कार्यालय गुलरिया बर्दियामा कार्यरत नासु शम्भुप्रसाद अधिकारी भ्रष्टाचारको आरोपमा अख्तियारको पासोमा परेका छन् । नासु अधिकारी सहित कर्मचारीको मिलेमतोमा सुकुम्वासी समस्या समाधान आयोगबाट प्राप्त २५ वर्षे हदवन्दी भएको जग्गालाई १५ वर्ष बनाई किर्ते गरी भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियारको पासोमा परेका हुन् ।

अख्तियारको पासोमा पर्नेमा मालपोत कार्यालयका अन्य कर्मचारीहरु खरिदार राधेश्याम झा, नासु उदयसिंह रावल, जग्गा धनी चन्द्र बहादुर सुनार जग्गा खरिद गर्ने टेकबहादुर सुनार र चन्द्र बहादुर सुनार, भक्त बहादुर थापा समेत रहेका छन् ।

उनीहरुले जग्गा विक्रीका लागि ३५ हजार घुस लिएर जग्गाधनी श्रेस्तामा २५ वर्षे समयावधिलाई १५ वर्ष बनाएर विक्री गराएका थिए । ३५ हजार घुस लिनका लागि उनीहरुले सेटिङ्गमा विक्री गर्न नमिल्ने जग्गा खरिद विक्री गर्ने व्यवस्था मिलाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु अधिकारी सहित छ जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको जनाएको छ ।