गठवन्धन भत्काउने प्रयास भईरहेको प्रचण्डको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने षडयन्त्र भईरहेको आरोप लगाएका छन् ।

सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आयोजित सहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा अध्यक्ष दाहालले सो आरोप लगाएका हुन् ।

उनले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने समेत बताए ।

“गठबन्धन बनेदेखि नै प्रतिक्रियावादी, पूरा राजा महाराजा गठबन्धन भत्काउने षड्यन्त्रमा लागेका छन्”, अध्यक्ष दाहालले भने, “त्यो षड्यन्त्र अझै पनि जारी छ, तर हामी यो गठबन्धनलाई अझै सुदृढ बनाएर लैजाने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ, त्यसैले उनीहरुको त्यो सपना कहिले पूरा हुँदैन ।

” संविधान नस्वीकार्ने तथा परिवर्तनलाई आत्मसात् नगर्ने तत्वले गठबन्धनलाई भत्काउने, निर्वाचन कार्यक्रमलाई बिथोल्ने र फेरि पनि मुलुकको वातावरणलाई धमिलो बनाउने प्रयास गरिरहेकाले सबैलाई सचेत हुन उनले आग्रह गरे । अध्यक्ष दाहालले सशस्त्र द्वन्द्वका क्रममा सहिद भएका ४० जनाको परिवारलाई जनही रु एक लाख नगदसहित सम्मान गरेका थिए ।