तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । उनीहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनलाई जोगाएर एमसिसीलगायतका विषयलाई निष्कर्षमा लैजानेबारे कुराकानी भएको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकको तयारीका लागि आफूहरुले छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “हामी गठबन्धनलाई कसरी बचाउने र एमसिसीबारे कसरी निकास दिने भन्नेमा नै केन्द्रित छौँ ।”

उनले पाँच दलको बैठकमा छलफल गरेर एउटा निष्कर्ष निकाल्नेमा नै जोड रहेको बताए । अध्यक्ष दाहालले आफूहरु गठबन्धनलाई जोगाएर अन्य विषयमा सहमति गरौं भन्ने मनसायमा रहेको बताए ।