बुढेसकालमा सहाराविहीन, कष्टकर जीवन बिताउदै ९६ वर्षीय दम्पती

काठमार्डौ । बेनी नगरपालिका–२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापा साहारा विहीन भएका छन् । ९६ वर्ष पार गरे पनि जीवनमा कहिल्यै सुखको महसुस गर्न नसकेको खड्गबहादुरले विरक्तिएर पटकपटक आत्महत्या गर्ने सोच बनाए पनि श्रीमती खिरकुमारीले नमानेपछि अहिलेसम्म बाँचेको सुनाएका छन् ।

बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ, पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौँ भनेर श्रीमतीलाई भनेँ तर उनी मान्दैमानिनन् र अहिलेसम्म बाँचिरहेको खड्गबहाद्ले गुनासो गरेका छन् । बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो अनुहारमा देखिने ९६ वर्षीय थापाको मनभित्र पीडा र दुःखको खहरे नै गड्गडाइरहेको महसुस गर्न सकिन्छ ।

लट्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध, दही ल्याएर खाने गरेका थापाको निधारमा चन्दन त कहिल्यै नछुट्ने बताउछन् । तर सहाराको बन्धन श्रीमती आफूभन्दा पहिला छुटिएर मृत्युहोला कि भन्ने चिन्ताले थापालाई पिरोलिइरहने बताउछन् । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस अन्न नै छ । आफ्नै भाइको गोठमा बुढेसकालका दिनहरु बिताइरहेका थापा दम्पतीका सन्तान भने छैनन् । विवाह भएर गएकी एउटी छोरी पनि मुख नबोल्ने अपाङ्ता भएकी छन् ।

बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरु दुर्गाबहादुर थापा र हिराबहादुर थापाले हेर्ने गरेको बताउछन् । ३८ वर्षअघि २०४० सालमा आफ्नो छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ र पीडा थपियो । त्यतिबेला त जेनतेन सहेर बस्दै आएपनि बुढ्यौली पनले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ छोरा नहुनुको पीडा उकुच बनेर चहराइरह्यो,को दुखी भइएरहेको बताए ।

३८ वर्षअघिको अवस्था सम्झँदै थापाले भने घर पनि थियो, कमाई खान अलिअलि सम्पत्ति पनि थियो, तर छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदिएँ अनि झारेगैरा तराई गएँ, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आएँ, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौँ ।

थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ताको रकम पाउछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्दछ । “अहिलेसम्म बिरामी परेर उपचारका लागि खर्च गर्न परेको छैन, बिरामी पर्ने हो भने यो रकमले के भ्याउँथ्यो र,” थापाले भने । सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समयसमयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरुबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको बताउछन् ।

थापाले श्रीमती खिरकुमारीले पनि ८० वसन्त पार गरेको बताउछन् । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम श्रीमती खिरकुमारीले नै गर्ने बताउछन् । शरीरमा थोरै तागत भएका बेला आफैँ काम गर्दै आएका छौँ,” खिरकुमारीले भन्नी “बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ ।

हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता भएको बताउछिन् । गहभरि आँसु खसाल्दै भन्नि निकै कष्टकर जीवन बिताउनु परेको सुनाउछिन् ।