मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला, शव पोष्टमार्टम गर्न काठमाडौं ल्याइने

काठमाडौँ । मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव पोष्टमार्टम गर्न काठमाडौं ल्याइने भएको छ । सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

दुर्घटना भएको ठाउँमा १४ जनाको शव भेटिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् । दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको छ । शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेको बताए ।
शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटरमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

तारा एयरका अनुसार विमानमा भारतीय ४ जना, नेपाली १३ जना र जर्मन नागरिक २ जना सवार थिए । बिहान १० बजेर ७ मिनेटमा म्याग्दीको शिख नजिकको आकाशबाट विमान सम्पर्कविहीन भएको थियो ।