कल बाइपास संचालन गर्ने एक भारतीय नागारी पक्राउ

काठमाडौँ । पर्साको वीरगंज महानगरपालिका २ स्थितबाट कल बाइपास संचालन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खान रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खानले वीरगंजस्थित भाडाको घरमा ईलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानूनी ढंगबाट राजश्व चुहावट गर्दै कल वाइपास सेन्टर संचालन गरेको हुँदा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा कल वाइपासमा प्रयोग भएका विभिन्न सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनको कोठाबाट ३२ पोर्टको भिओआईपि गेटवे १ थान, राउटर २ थान, ईन्भटर १ थान, नेपाल टेलिकमको सिमकार्ड ४० थान र एनसेलको सिमकार्ड ५८ थान प्रहरीले बरामद गरेको छ । उनलाई उपर दूर सञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।