काठमाडौँ । छुट्टाछुट्टै स्थानबाट विभिन्न हातहतियार सहित चार जनालाई पक्राउ गरेको छ । लितपुर, महालक्ष्मी नगरपालिका ४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोली सहित सोही नगरपालिका ८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई विशेष सुचनाको आधारमा प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३- ०२ -०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।
धादिङको खनियावास गाउँपालिका २ अक्थलीबाट म्याग्जिन सहितको १ थान पेस्तोल र १ थान खुकुरी सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही गाउँपालिका २ झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र सोही ठाउँ बस्ने २५ वर्षीय अविनाश तामाङ रहेका छन् ।
उनीहरूले पेस्तोल राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिइएको छ ।
त्यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापाचोक बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारीलाई १ थान पेस्तोल र १ सोको १ राउण्ड गोली सहित गएराति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको कारण अधिकारीले पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको खबरको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित पक्राउ गरेको छ ।
Add Comment