यो ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस् : वडाध्यक्ष

काठमाडौँ । बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिदिएर डीएसपीले ठूलो अन्याय गरेको बताए । उनले भने, यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस् ।

तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न प्रहरी परिचालन गरिएको थियो ।

सो क्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्याय के हुन्छ भनेर प्रश्न गरेका छन् ।

आफू अनुकुल निर्णय हुने नदेखेपछि नगर प्रमुख खाणले गणपूरक संख्या पुग्दा पुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबारदेखि नगर सभा स्थगित गर्दै आएका छन् । नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले पनि विरोध गर्दै आएका छन् ।