वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् ।

संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उनले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको शपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको सुनाए ।

उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षसँग यस बारेमा सामान्य छलफल भएको थियो । उनले भन,“छलफल गर्दै जाउँ के निष्कर्ष निस्कन्छ, त्यही गरौँ भन्ने विषयमा कुराकानी भयो ।” छलफलका क्रममा संसद्को कार्यकाल मनोनयन गर्ने दिनसम्म रहन्छ भन्ने सबैको बुझाइ रहेको उनले बताएका छन् ।

“संसद्को कार्यकाल नसकिँदै विघटन हुँदा सभामुख र उपसभामुख बाहेक सांसदको पद नरहने अवस्था हो”, सभामुख सापकोटाले भने, “यसबारेमा संविधानविद्सँग छलफल गरेर निष्कर्षमा पुगिन्छ ।”