ट्राफिक नियम उल्लङ्घन गर्नेबाट २ करोड राजस्व सङ्कलन

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट नवलपरासी बर्दघाट–सुस्तापूर्व स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कारबाहीमा ट्राफिक प्रहरीले २ करोड ११ लाख ८१ हजार ५ सय राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्षमा मा ३१ हजार १ सय ९३ चालकलाई कारबाही गरिएको प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले जानकारी दिइएका छन् । जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका उनले बताए ।

विसं २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म ११ हजार ७ सय ५३ वटा ट्रक चालक कारबाहीमा परेका थिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत रु ८४ लाख १५ हजार ५ सय राजस्व सङ्कलन गर्न सफल भएको थापाले जानकारी दिए । त्यस्तै सोही अवधिमा ११ हजार ७१ मोटरसाइकल चालक कारबाहीमा पर्दा रु ७७ लाख ५६ हजार ५ सय र २ हजार १ सय १२ यात्रुवाहक बसलाई कारबाही गर्दा रु १२ लाख ८१ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक थापाले बताए ।

चार हजार ४ सय १४ हलुका सवारी साधन जीप, कार तथा भ्यान चालकबाट रु २५ लाख ८३ हजार ५ सय र १ हजार ७ सय ४३ ट्र्याक्टर चालकबाट रु ११ लाख ४५ हजार जरिवाना असुल गरिएको थियो । जिल्लामा गत आव २०७८/७९ मा १२३ वटा सवारी साधन दुर्घटनामा परेका र त्यसमा ३९ जनाले ज्यान गुमाएका थिए भने २ सय ३९ सख्त घाइते भएका थिए ।