एसपीपीमा सरकारको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिइएको छ ।

आजाको प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांश सांसदहरूले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गरिसकेको भए पनि अमेरिकालाई पत्र किन नपठाइएको भनी प्रश्न उठाउनुभएपछि सभामुख सापकोटाले त्यस बारेमा स्पष्ट पार्न सरकारलाई रुलिङ गरेको हो ।

विश्वव्यापीरूपमा सैन्य तनाव देखिएको अवस्थामा नेपालले पञ्चशील र असंलग्नताको सिद्धान्त अवलम्बन गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय मुद्दामा शान्तिपूर्ण समाधानको भूमिका निर्वाह गर्नुपर्ने बताए । “नेपाल कुनै पनि सैन्य गठबन्धनमा आबद्ध भयो भने राष्ट्रिय अस्मिता धरापमा पर्न सक्छ, द्वन्द्वग्रस्त अवस्था सिर्जना हुन सक्छ”, उनले भने, “सैन्य सम्झौता जस्तो गम्भीर विषयमा अविलम्ब सरकारले जानकारी गराउनुपर्छ, परराष्ट्र मन्त्रालयले अविलम्ब सरकारको निर्णयको पत्राचार गर्नुपर्ने विषयमा रुलिङको माग गर्दछु ।”

बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न रहेकोबारे छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिनका लागि थप गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वर्षा र खेतीपातीको समयमा किसानले मल नपाएर हैरानी खेपिरहनुपरेको, विद्यालयमा पठनपाठन सुरु भइसकेको तीन महिना बितिसक्दा पनि देशका कतिपय स्थानमा अझै पनि पाठ्यपुस्तक पुग्न नसकेकोमा सरकारको ध्यानकृष्ट गराउए ।

सांसदहरुले नेपाली मुद्राको अवमूल्यन हुँदै गएको र जनता महँगीको मारमा परिरहेकाले गरिब तथा विपन्नलाई राहतका कार्यक्रम दिनुपर्ने र विभिन्न स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन गरेर जनतालाई राहत दिन सकिने भएकाले त्यस तर्फ सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिइएका छन् ।

बैठकमा सांसदहरुले महँगीको मारमा परेका श्रमिक मजदुरको ज्याला बढाउन, बाढी पहिरो प्रभावितहरूको राहत र उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।