युवाहरुलाई ‘नेपाली गर्ल’ एप मार्फत ठगी गर्ने गिरोह प्रहरी फन्दामा

काठमाडौं । युवा तथा अधवैशेहरुलाई लक्षित गरी नेपाल गर्ल एप मार्फत ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरले त्यसरी ठगी गर्ने गिरोहलाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । उनीहरुले अनधिकृत रुपमा अन्य व्यक्तको वैक खाता नियन्त्रणमा लिएर रकम निकाल्ने गर्ने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गर्दै ह्वाट्सअपबाट बिभिन्न एप्लिकेसन डाउनलोड गर्न लगाउने र डाउनलोड गर्नेको मोबाइलमा रहेको बैंकिङ एपमा पहुँच पुर्‍याएर रकम निकाल्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेश घर भएका अवधेश कुमार, सप्तरी कृष्णासवर गाउँपालिका घर भएका दिलीपकुमार चौधरी, पर्सा विन्दवासिनी बस्ने नगेन्द्र साह कानु, रौतहट रङपुर नगरपालिका घर भएका रविना चौधरी, बारा कोलबी नगरपालिका घर भएका सन्तोष कुवँर, पर्सा वीरगन्ज महानगरपालिका घर भएका राजु पटेल, साहिल परवेज र दिनेश राउत र शिवशंकर राउत रहेका छन्।

ललितपुर सातदोबाटो बस्ने हरिप्रसाद ढकालको नामको एनआइसी एसिया बैंकमा रहेका मोबाइल बैंकिङ खाताबाट रकम चोरी भएको उजुरीपछि अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए।

प्रहरीका अनुसार अभियुक्तहरूले ह्वाट्सअपमा नेपाली गर्ल एपको लिंक पठाउने गरेका थिए। उक्त एप डाउनलोड गर्दा मोबाइलमा रहेको बैंकिङ एपमा पहुँच पुर्‍याएर रकम निकाल्ने गरिएको शाहले बताए।

उनीहरूको साथबाट विभिन्न कम्पनीको ९ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटीएम कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले मोबाइल एपबाट ठगिनेहरूको उजुरी आइरहेको र थप अनुसन्धान भइरहेको बताएको छ।