नागरिकता विधेयक प्रमाणीकरण : राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् । वरिष्ठ अधिवक्ता भण्डारीले रिट दर्ता हुने क्रममा रहेको बताए ।

रिटमा नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न रोक लगाउन पनि माग गरिएको छ । त्यस्तै नागरिकतासम्बन्धी राष्ट्रिय नीति बनाउन र सोही नीतिका आधारमा नागरिकता ऐन र नागरिकता नियमावलीहरु परिमार्जनका लागि आदेश पनि माग गरिएको भण्डारीले बताए ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सभामुख, प्रतिनिधिसभा, राष्ट्रियसभालगायतका निकायलाई विपक्षी बनाइएको छ ।

संघीय संसदको दुबै सदनले पारित गरेको नागरिकता विधेयक निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए ।