सांसदले आफ्नो अधिकार नगरेको हुनाले सरकारले हामीलाई हेप्छ : गगन थापा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन् । कानुन निर्माण गरेर मात्रै अघि बढने प्रणालीको विकास गर्न सकेमात्रै बजेट कार्यान्वयन सुनिश्चित हुने उनले बताए ।

आइतवार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको गुनासो गरे ।

संसदीय प्रणालीमा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था अन्त्य हुनेगरी अघि बढनुपर्ने उनले बताए ।

संसद्‍मा उनले व्यक्त गरेको धारणा जस्ताको त्यस्तै
बजेट ल्याएपछि सरकारसँग बहुमत छ । जस्ताको तस्तै पास हुन्छ । डराउनै परेन । बजेट पनि अर्थ मन्त्रालयले लिएर आउँछ । यसको समीक्षा पनि अर्थ मन्त्रालयले लिएर आउँछ । अनि हामीहरूसँग सीमित ज्ञान र सूचना हुन्छ । यसको आधारमा यहाँ आएर बोल्दाखेरी कुण्डा पोख्छौं । गाली गर्छौं । तर तथ्य, तथ्यांकले गर्दा समात्नुपर्ने ठाउँमा समात्दैनौं । बजेट निर्माणमा हामी हामी सांसदहरूले व्यापक ढंगले काम गरेको नदेखेको हुनाले नागरिकहरूले हामीसँग मन्दिरमा गजुरको लागि पैसा माग्छन् । इनार खन्न पैसा माग्छन् । किनभने संसदमा हामीले टेबल मात्रै ठोकेको देखिरहेका हुन्छन् । हुन्छ, हुन्न भनेको मात्रै देखिरहेका हुन्छन् ।

अर्थ मन्त्रालय वा सरकार हामीसँग डराइराखेको हुँदैन । स्रोत के मा खर्च गर्ने, कसरी खर्च गर्ने रु यावत कानून बनाउने अधिकार हामीसँग छ । त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौं । त्यो अधिकारको प्रयोग नगरेको हुनाले सरकारले हामीलाई हेप्छ । जे गरे पनि हुन्छ भन्छ । किनभने पार्लियामेन्ट सिष्टममा सरकारसँग जहिले पनि बहुमत हुन्छ । हामी कहाँ क्रस पार्टी काम गर्ने प्रचलन पनि छैन । त्यसैले माननीय सदस्यहरूलाई मेरो आग्रह यो बजेट त अब पास भएर जान्छ । मन्त्रीलाई पारदिनु है भनेर भन्नु पर्ने अवस्था हामीले आफ्नो हातमा भएको अधिकार प्रयोग नगरेर भएको हो । बजेट प्रणालीमा सुधार गरौं ।