आन्दोलनमा धरपकड गर्ने प्रहरीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तामाङ-मगर जातीको आन्दोलनमा धरपकड गर्ने प्रहरीमाथि कारबाही हुने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आन्दोलनमा धरपकड गर्ने सुरक्षाकर्मीमाथि कारबाही अघि बढाइसकेको जानकारी दिएका हुन्।

‘हिजो मात्रै गृहमन्त्रालय लगायत सम्बन्धित प्रहरी अधिकृतलाई राखेर घटनाक्रमको समीक्षा गरिएको छ, ‘उनले भने,’ दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढिसकेको छ।’

प्रधानमन्त्री दाहालले आफ्नो भाषा, संस्कृतिमाथि अपमान हुने कुरा कसैलाई पनि सह्य नहुने बताए। उनले तामाङ-मगर समुदायको आन्दोलनमा प्रहरीले ज्यादति गरेको भन्दै उनीहरूमाथि कडा कारबाही हुने बताए।

दाहालले कुनै पनि जाती,भाषा,संस्कृतिमाथि अपमानित भाषा प्रयोग गर्नु सहन नसक्ने कुरा भएको बताए। प्रधानमन्त्री दाहालले अधिवक्ता भगवती पाण्डेको विवादास्पद अभिव्यक्तिप्रति सरकार गम्भीर रहेको बताए। एक टेलिभिजन अन्तर्वाताका क्रममा अधिवक्ता पाण्डेले तामाङ,मगरलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र जसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन्।

विवादास्पद अभिव्यक्ति दिने पाण्डेलाई तत्काल पक्राउ गरी कानुनी दायरमा ल्याउन माग गर्दै तामाङ र मगर समुदायका व्यक्तिहरूले जिल्ला प्रहरी परिसर टेकुमा प्रदर्शन समेत गरेका थिए। सोही क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको थियो। पक्राउ परेका महिलालाई भने प्रहरीले कोठाभित्र लगेर यातना समेत दिएको थियो।

पाण्डेको अभिव्यक्तिले तामाङ समुदायको अपमान गरेको र जातीय स्वाभिमानमा चोट पुर्‍याएको भन्दै ७७ जिल्लाका प्रशासन कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका थिए।

वादास्पद अभिव्यक्ति दिएकी पाण्डेविरुद्ध तामाङ मगरलगायतको समूहले उजुरी दिएपछि पक्राउ परेकी थिइन्। प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो। तर, जिल्ला अदालतले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि पाण्डे रिहा भएकी थिइन्।

उनको अभिव्यक्तिप्रति रुष्ट भएका मगर तामाङ समुदायका व्यक्तिहरू आन्दोलित छन्।