एनआइसी एशिया बैंकद्धारा तीन नयाँ कर्जा योजना सार्वजनिक

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ।

ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको छ।

२५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरूले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत ग्राहकहरूले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन्।

साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ।

बैंकले ग्राहकहरूको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ।

अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ। साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरूलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरूले सञ्चालित वा नयाँ व्यवसायहरूको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन्।

त्यसैगरी, बैंकले ल्याएको न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि -वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको बैंकको भनाइ छ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवम् ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।