माओवादीले केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगभग टुङ्गियो, अन्तिम रूप दिइँदै

फाईल तस्बिर

काठमाडौँ । सत्तारूढ नेकपा ९माओवादी केन्द्र०ले केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगभग टुङ्ग्याएको छ ।

साउन १७ देखि २१ सम्म राजधानीको प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीको कार्य विभाजनको टुङ्गो लगाउँदै केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।

बैठक सकिए लगत्तै सात प्रदेशका नयाँ इन्चार्जहरूले सम्बन्धित प्रदेशका पदाधिकारीसँग छलफल गरी जिम्मेवारी हेरफेरको टुङ्गो लगाएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यहरूको अन्तर जिल्लाको आधारमा जिम्मेवारी हेरफेर भएको छ । पार्टीको बैठक बसेर यसलाई अन्तिम रूप दिने तयारी भएको उपाध्यायले बताए ।

‘प्रदेश इन्चार्ज र सम्बन्धित प्रदेशका पदाधिकारी बसेर लगभग कार्य विभाजनको टुङ्गो लागेको छ । केन्द्रीय सदस्यहरूलाई पालिका हेर्ने गरी अन्तर जिल्लाको जिम्मेवार दिइएको छ । वडामा प्रदेश सदस्यहरूलाई पठाउने तयारी छ । पार्टीको बैठकले यसलाई अन्तिम रूप दिइनेछ’, उनले भने ।

यसअघि बैठकले कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव र सुदूरपश्चिममा डिलाराम आचार्यलाई इन्चार्जको जिम्मेवारी दिएको थियो । यसैगरी उपत्यका विशेष प्रदेशमा वर्षमान पुन, उपत्यका सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल र प्रवासमा राम कार्की इन्चार्जको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रले भदौ १६ गते भव्य समारोह गरी ‘जनतासँग माओवादी विशेष’ तीन महिने अभियान सुरु गर्दै छ । त्यसका लागि पदाधिकारीदेखि सबै तहका कमिटी परिचालन गर्ने तयारी गरेको छ ।

माओवादीमा ७ भूगोल प्रदेश र तीन गैर भूगोल प्रदेश गरी १० वटा प्रादेशिक संरचना रहेको छ । गैर भूगोलमा रहेका सदस्यहरूलाई पनि भूगोलको जिम्मेवारी दिइने उनले बताए ।

यसैगरी केन्द्रीय समितिले थपेको २२ जनासहित ४०७ जना केन्द्रीय सदस्य र १९८ जना वैकल्पिक केन्द्रीय सदस्य छन् ।