सांसद सुनिल शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली भएको भन्दै सीआईबीले पक्राउ गरेपछि…

काठमाडौं । प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उत्तीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जनाएको छ ।

मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको छ ।

सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत सुनिल शर्मा पक्राउ परेका हुन् । ‘पुरानो केसहरु हेरेर अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरता हो, सुनिल शर्माको हकमा अहिले पुष्टि भएपछि छानबिनको दायरामा ल्याएका हौं’ उनले भनिन् ।

सीआईबीले शर्मा पक्राउ परेको बारे संघीय संसद सचिवालयलाई लेखेको पत्रमा उनको आईएस्सीको प्रमाणपत्रलाई राष्ट्रिय परीक्षा बोर्डले पुष्टि नभएको उल्लेख गरेको बताएको छ ।

सीआईबीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो । उनले भारतको कलेजबाट ल्याएको प्रमाणपत्र नक्कली भएको प्रहरीको दाबी छ । ‘सम्बन्धित कलेजमा सोध्दा हाम्रो रेकर्डमा छैन भन्ने जानकारी आएको छ’ सीआईबी स्रोतले भन्यो ।

यो प्रकरणमा प्रहरीले सुनिल शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरीलाई पनि पक्राउ गरेको छ ।