एमालेको अवरोधका कारण बुधबारसम्मको लागि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारको राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेपछि आगामी बुधबारसम्मको लागि स्थगित भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बिहान बसेको बैठकमा एमालेले गरेको अवरोधको विरोधमा सत्तापक्षका सांसद पनि आ–आफ्नो सिटबाट उठेका थिए।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई नियमित गराउने वातावरण बनाइदिन सबै सांसदहरुलाई बस्न आग्रह गर्दा पनि सत्तापक्ष र प्रतिपक्षका सांसद उठेका थिए।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बैठक साउन ३१ गते बुधबारसम्मको लागि स्थगित भएको घोषणा गरे। एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले संसद अबरोधबारे शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका थिए। प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्ने तय भएको छ।