पहिरो कारण अवरुद्ध कुलेखानी–सिस्नेरी सडक सञ्चालनमा आयो

फाईल तस्बिर

काठमाडौं । पहिरो पन्छाएसँगै हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भिमफेदी कुलेखानी सिस्नेरी सडक सञ्चालनमा आएको छ । आइतबारदेखि बन्द रहेको उक्त सडक पहिरो पन्छाएर सोमबार बिहान १० बजेबाट सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको थियो । वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोका कारण सो सडक खण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त पहिरो सोमबार बिहान पन्छाएर सडक सञ्चालनमा ल्याइएको उनले बताए । पहिरो ठुलो नभए पनि वर्षा भइरहेकाले आइतबार दिनभर पहिरो पन्छाउन समस्या भएको थियो । सोमबार वर्षा रोकिएसँगै सडक डिभिजन कार्यालय हेटौँडासँगको समन्वयमा जेसिभी प्रयोग गरी पहिरो पन्छाइएको थियो । सडक सञ्चालन भएसँगै हेटौँडा काठमाडौँ आवतजावत खुल्ला भएको छ । पहिरोका कारण रोकिएका सवारी साधनहरू गन्तव्य तर्फ प्रस्थान गरेको प्रवक्ता कार्कीले बताए ।

यता पहिरो खसेर बन्द भएको कान्ति लोकपथ भने सञ्चालन आउन सकेको छैन । कान्ति लोकपथ अन्तर्गतमा आइतबार बिहान बागमती गाउँपालिका–३ टाकुर्चेमा खसेको पहिरो साँझ नै पन्छाइएको थियो भने पाङ्दुर खोलामा पहिरो हटाउन सकिएको थिएन । सो स्थानमा अहिले पनि वर्षा रोकिएको र पहिरो पन्छाउने काम भइरहेको छ ।