वेष्ट इन्डिज सँग भारत पराजित

काठमाडौँ । भारतले वेष्ट इन्डिजविरुद्धको टी–२० क्रिकेट श्रृंखला हारेको छ । पाँचौँ तथा अन्तिम खेलमा ८ विकेटले पराजित हुँदै भारतले श्रृंखला हारेको हो ।

फ्लोरिडामा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १६५ रन बनायो । सूर्यकुमार यादवले ४५ बलमा ६१ तथा तिलक बर्माले १८ बलमा २७ रन बनाए । रोमारिओ शेफर्डले ४ विकेट लिए ।

जवाफमा वेष्ट इन्डिजले १८ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । ब्रान्डन किंगले ५५ बलमा अविजित रहँदै ८५ तथा निकोलस पुुरनले ३५ बलमा ४७ रन बनाए ।

कमजोर बलिङ गरेको भारतका लागि अर्शदीप सिंह र तिलक बर्माले १–१ विकेट लिए ।

भारतको हारका रेकर्ड
यो हारसँगै भारतले पाँच खेलको टी–२० श्रृंखला ३–२ ले हारेको छ । भारतले पाँच खेलको श्रृंखलमा ३–२ ले हारेको पहिलो पटक हो ।

कप्तान हार्दिक पाण्ड्याको कप्तानीमा भारतले पहिलो पटक श्रृंखला गुमाएको हो । टी–२० श्रृंखलामा तीन खेल हार्ने पाण्ड्या पहिलो भारतीय खेलाडी हुन् ।

वेष्ट इन्डिजविरुद्ध लगातार १५ श्रृंखला जितेको भारतको यो पहिलो श्रृंखला हार हो ।

प्लेयर अफ द सिरिज निकोलस पुरन भए । उनले पाँच खेलमा १७६ रन बनाएका छन् ।

रोमारियो शेफर्डले सर्वाधिक ९ विकेट लिए ।